गौरीशंकर गाउँपालिका, बागमती प्रदेशको दोलखा जिल्लामा रहेका ९ वटा मध्ये एउटा स्थानीय तह हो । प्रसिद्ध गौरीशंकर हिमाल (७,१३४ मिटर) को नामबाट यस गाउँपालिकाको नामकरण गरिएको हो । यो गाउँपालिका वि.सं. २०७३ सालको स्थानीय तह पुनःसंरचनापछि गठन भएको हो र यसलाई ९ वटा वडाहरूमा विभाजन गरिएको छ ।
साबिकका गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु र जुँगु गरि ७ वटा गाउँ विकास समितिहरुलाई समेटेर गौरिशंकर गाउपालिका गठन भएको हो ।
६८२.३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अवस्थित छ । यसको उत्तरमा चीन (तिब्बत) सहित रामेछाप र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरूसँग सिमाना जोडिएको छ ।
यहाँ जिरेल, सुरेल, थामी, तामाङ, शेर्पा, ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर लगायतका विविध जातजातीहरूको बसोबास रहेको छ ।
पर्यटन, जलविद्युत्, कृषि तथा पशुपालनका दृष्टिले सम्भावनायुक्त यस गाउँपालिकामा रोल्वालिङ उपत्यका, छो रोल्पा हिमताल तथा दूधकुण्ड जस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू रहेका छन् । रेड पाण्डा जस्ता दुर्लभ वन्यजन्तु र विभिन्न प्रजातिका जडिबुटी यहाँको थप विशेषता हुन् ।
प्राकृतिक सौन्दर्य र सम्पदा तथा सांस्कृतिक विविधताले सम्पन्न यस गाउँपालिकाले दिगो विकास तथा नागरिकको सहजतालाई केन्द्र विन्दु बनाएर योजनावद्ध रुपमा कामहरु अगाडि बढाइरहेको छ ।